वैशाख-सरकारले सातामा दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेसँगै शैक्षिक संस्थाहरुको हकमा के गर्ने भन्ने विषय अहिले पनि अन्योल नै देखिएको छ । सम्पूर्ण शैक्षिक संस्थाहरु विद्यालय, कलेज, विश्वविद्यालय लगायतका शिक्षण संस्था शनिबार र आइतबार बन्द हुने भनिए पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै निर्णय नगर्दा अन्योल देखिएको हो ।
सरकारले जेठ १ गतेबाट विद्यालयका कक्षा शनिबार र आइतबार बाहेक बिहान ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन गर्ने निर्णय गरेको छ । योसँगै दुई दिनको विदाले विद्यार्थीको शिक्षण सिकाइलाई प्रभाव नपार्ने गरी विभिन्न विकल्प मन्त्रालयले ल्याउने तयारी गरेको पनि छ ।
विभिन्न विकल्प बारे मन्त्रालयमा सरोकारवालहरुसँग छलफल भईरहेको र निर्वाचन भन्दा अगाडी नै विकल्प सहितको निर्णय सार्वजनिक गरीने शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए । उनले भने “दुई दिन विदा के हुन्छ भन्ने कुरा होइन, सरकारले निर्णय गरेपछि लागु हुन्छ । तर बाँकी दिनहरुमा पाठ्यक्रमले निर्धारण गरेको पाठ्य घण्टालाई कसरी पुरा गर्न सकिन्छ भन्ने विषय हो । यसका बारेमा मन्त्रालयमा छलफल भइरहेको छ ।”
शर्माले शुक्रबारको समयलाई बढाउने, विद्यालय बिहान केही समय छिटो र बेलुका केही समय ढिलोसम्म सञ्चालन गर्ने वा अनावश्यक तथा अनिवार्य दिनै नपर्ने विदा कटौति गरी पठनपाठन गर्न सकिने लगायतका केही विकल्पहरुमा छलफल भइरहेको बताए । यसबारे मन्त्रालयले आज भोलिनै विकल्प सार्वजनिक गर्ने समेत जानकारी दिए । त्यसैगरी ग्रामिण क्षेत्रमा रहेका, हीमाली जिल्लामा रहेका र तराईका जिल्लामा गर्मी÷जाडोको समयमा वा विभिन्न कारणले विद्यालय सञ्चालनमा कुनै अफ्ठेरो परेको अवस्थामा स्थानीय तहले नै व्यावस्था गर्न सक्ने जनाए ।
प्याब्सन केन्द्रका अध्यक्ष डिके ढुंगानाले पाठ्यक्रमले निर्धारण गरेको कार्य घण्टा र कक्षा घण्टा १८० दिन वा १ हजार २४ घण्टा शिक्षण घण्टा तोकिएको हुनाले पुरा हुने सुनिश्चित गरेरमात्र हप्तामा दुई दिन बिदा गर्न उपयुक्त हुने बताए । निजामती प्रशासनिक भन्दा शिक्षा क्षेत्र फरक रहेको र विद्यार्थीको भविष्यसँग जोडिने भएकाले कार्य घण्टा र कक्षा घण्टा पुरा गर्ने सुनिश्चित गरेरमात्र बिदालाई कार्यन्वयनमा लैजान शिक्षा मन्त्रालयलाई आग्रह गरिने बताए ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यक्रमले निर्धारण गरेको शिक्षण अवधि नघटाउने हो भने समस्या नहुने बताउँछन् । उनी भन्छन् ‘ पाठ्यक्रम घण्टा घट्न भएन साथै विद्यार्थीको अहित हुनेगरी निर्णय गर्न भएन अन्यथा भौगोलिक कारणले केही असजिलो तर विस्तारै अभ्यस्त हुँदै जान्छ ।’ साथै विद्यालय विदा र पठनपाठनको सवालमा स्थानीय पालिकालाई निर्णय गर्न दिनु उचित हुने बताए ।
शिक्षाविद् धनञ्जय शर्माले विद्यालयको क्यालेन्डरलाई प्रभावित हनेगरी विद्यालयलाई दुई दिन विदा दिन आवश्यक नरहेको बताए । इन्धनको मुल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितमा आएको गिरावटका कारण सातामा दुई दिन बिदा गर्ने निर्णय सरकारले गरेपनि सार्वजनिक विद्यालयमा बस नभएका कारण बिदा दिन आवश्यक नभएको बताए । “लामो समयसम्म विद्यालय बन्द भएर भौतिक रुपमा सञ्चालन हुन थालेका विद्यालयलाई दुई दिन विदाले शैक्षिक क्यालेन्डरमा असर पर्छ” उनले भने ।
उनी भन्छन् “शिक्षकका पेशागत संघ संगठन र निजी विद्यालयका संघठनहरु यसको विरोधमा जानु पथ्र्यो तर मौन छन् । यसको अर्थ विद्यार्थीको भविष्य माथि चिन्तित नभएको पाईयो । शिक्षक संगठनहरुले शिक्षकका हकहितका बारेमा आवाज उठाए पनि विद्यार्थीका समस्याका बारेमा केही बोल्दैनन् ।”
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले पाठ्यक्रमले निर्धारण गरेको पाठ्य घण्टा पुरा हुनेगरी कार्यतालिका बनाउन आवशयक रहेको बताइन । यसका लागि अनावश्यक रुपमा दिइएको विदाहरुलाई कटौती गर्नुपर्ने र सिकाई उपलब्धीलाई असर नपर्ने गरी कार्य घण्टा र कक्षा घण्टा निर्धारण गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएको बताइन । हिसानका उपाध्यक्ष रामहरी सिलवालले कोभिड महामारी पछि भर्खर शैक्षिक संस्थाहरु भोतिक रुपमा सञ्चालनमा आएका कारण अहिले नै दुई दिन बिदा गर्न नहुने र हिसानले बिदा नगर्ने बताए । विद्यालय कलेज बन्द गरेर इन्धनको प्रयोग कम हुन्छ भन्नु गलत भएको समेत धारणा व्याक्त गरे ।
विश्वव्यापि रुपमा हेर्ने हो भने पनि अधिकांश देशमा दुई दिन विदा हुने र नेपालमा पनि त्यसलाई लागु गर्दा केही फरक नपर्ने शिक्षाविद् मेदिन लामिछनेले बताए । अनावश्यक रुपमा दिईएका विदालई कटौती गरी पाठ्य घण्टालाई व्यावस्थित गर्न सकिने उनको भनाई छ । त्यसैगरी विद्यालयहरुले वर्षमा चार पटकम्म परीक्षा लिने गरेको बताउँदै त्यो अनावश्यक भएको र विद्यार्थीलाई दबाब दिने कार्य भएकाले परीक्षा नलिएर त्यो समयलाई पनि सिकाइमा सदुपयोग गर्न सकिने तर्क अगाडी सारे ।