शिक्षा र संस्कार- रबिन बस्नेत

शिक्षा र संस्कार- रबिन बस्नेत
रबिन बस्नेत मंगलबार, कात्तिक ६, २०८१

शिक्षा व्यक्तिको अन्तरनिहीत क्षमतालाई उजागर गर्ने माध्यम हो जो सिकेर, भोगेर वा अन्य कुनै पनि प्रकारले समाज, प्रकृति, विद्यालय, घरपरिवार्, साथीभाइ वा अन्य विभिन्न संचार माध्यमबाट प्राप्त गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध हो । संस्कार भन्नाले मानिसले आफ्नो धर्म, चालचलन्, परिवेश, विधि-विधान आदिमा रही गरिने रहनसहन्, व्यवहार्, मर्यदामा रहेर पालना गर्ने अनुशासित क्रियाकलाप  हो जसमा हरेक व्यक्ती र समाजको मौलिक पहिचान जोडिएको हुनसक्छ । यसरी शिक्षा भन्नाले संस्कार र संस्कारमा आधारित शिक्षा भन्ने बुज्न सकिन्छ ।त्यसैले शिक्षा र संस्कारलाई एउटा सिक्काको दुई पाता जस्तै भनिन्छ । एकको अभावमा अर्को अपूर्ण नै रहन्छ । त्यसैले भनिन्छ "संस्कारमुखी शिक्षा आजको आवश्यक्ता" ।

अहिले विज्ञान र प्रविधिको तिव्र विकाससँगै सिंगो संसार नै सानो गाउँ जस्तो भएको छ। नयाँनयाँ आविष्कारको होड्वाजी नै चलेको छ जस्ले मानिसको दैनिक क्रियाकलापलाई छिटो, छरितो र सहज बनाएको छ । भनिन्छ यो सबै शिक्षाले  भएको हो ।  यो सही पनि हो, शिक्षाको विकासले नै यो सम्भव भएको हो । मानिस जती शिक्षित र विकसित हुँदै गयो समाज त्यही गतिमा अघी बढ्दै गयो । समाज जती शिक्षित र विकसित हुँदै गयो त्यती नै जटिल बन्दै गएको छ । भनिन्छ पहिले समाज शिक्षित थिएन र आज समाज शिक्षित छ । फेरी भनिन्छ पहिलेको समाज शिक्षित थिएन र आज समाज शिक्षित छ । फेरी भनिन्छ पहिलेको समाजमा यती धेरै समाजिक समस्या विकृती थिएनन तर अहिले शिक्षित भनिएको समाजमा यती धेरै पारिवरिक, सामाजिक विकृती र समस्याहरु रहेका छन ।यस्ता समस्या झन शिक्षित भएको व्यक्ती र समाजमा किन बढे होलान ?    व्यक्ति-व्यक्ति, समाज्-समाज र राष्ट्र्-राष्ट्र विचमा हत्या, हिंसा, चोरी, बलात्कारी, भ्रष्टचार जस्ता समस्या किन यति धेरै ? कतै संस्कार हराएर वा कमजोर भएर त होईन ?

अब यी प्रश्नहरुको उत्तरको खोजी र समस्याको समाधान गर्न जरूरी छ । समयले पनि त्यो बोध गराउला नै । चुरो कुरा यही हो कि समाज शिक्षित त बन्दै गयो तर संस्कारलाई छोडिदै गयो त्यसैले त्यो पूर्ण भएन। तसर्थ शिक्षा संस्कार मातृदेवी भवः पितृ देवो भवः अतिथि देवो भवः हो। हो, वासुधैव कुटुम्बकम् हाम्रो संस्कार हो। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर गुरुसाक्षात् परब्रह्मा तस्मै श्री गुरवे नमः हाम्रो संस्कार हो, सर्वे भवंतु सुखिनः सर्वे सन्तु निरामयाः... मानवसेवा नै सबैभन्दा ठूलो सेवा भन्ने हाम्रो संस्कार, जुन हाम्रो ऋषिमुनिहरुले ध्यान गरी ज्ञान दिएको यो देवभूमि, बुद्धले व्रिद्धत्व प्राप्त गरी शान्ति र अहिंसाको सन्देश दिएको पवित्र भूमि हो। त्यसैले हामीले फेरिने प्रत्येक श्वास र पिउने पानीमा त्यो संस्कार मिसिएको छ। त्यो संस्कार आज कमजोर भएको हो कि जस्तो महसुस भएको छ, त्यसैले शिक्षाले त्यो मौलिक संस्कार दिनैपर्छ। जुनसुकै विधाको शिक्षा प्राप्त गरी शिक्षित भए पनि त्यसभित्र आफ्नो संस्कार हुनैपर्छ अनि मात्र समानुभूति र विश्वबन्धुत्वको भावना जागरण हुन सक्छ र शिक्षाले त्यो संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नैपर्छ नत्र शिक्षित भनिएको व्यक्ति संस्कार र संस्कृतिबिहीन हुन्छ जो यन्त्रमानव (रोबट) जस्तै मात्र हो। जुन विज्ञान प्रविधिले आविष्कार गरिसकेको छ।

अबको शिक्षाले त्यस्तो यन्त्रमानव होइन मानवीय गुणले भरिपूर्ण शिक्षा र संस्कारयुक्त जनशक्ति उत्पादन गर्नुपर्छ। त्यसका लागि शिक्षा नै एक मात्र त्यस्तो माध्यम हो जुन विद्यालय र विश्वविद्यालयको औपचारिक शिक्षाबाट मात्र सम्भव छैन। पहिलो कुरा असल संस्कार र संस्कृतिको विकास र पुस्तान्तरण घरबाट नै सुरु हुनुपर्छ, घर पहिलो पाठशाला हो, दोस्रो विद्यालय हो। विद्यालय भनेको एउटा सानो समाज हो जसले व्यक्तिको समाजीकरणलाई सहयोग गर्दै शिक्षा प्रदान गर्दछ। यसलाई विद्यालयको एउटा औपचारिक कार्यक्रमसँगै हरेक बालबालिकाहरूमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने संस्कारयुक्त विभिन्न क्रियाकलाप गरिनुपर्दछ। किनभने बालबालिकामा पृथक क्षमता अनुसार संस्कारयुक्त शिक्षा सिक्ने कुरा पाठ्यक्रमले निर्धारण गरेको औपचारिक कार्यबाट मात्र सम्भव हुँदैन। त्यसैले विद्यालय नै त्यस्तो पवित्र मन्दिर हो, जहाँ विभिन्न प्रतिभा भएका बालबालिकाहरू आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गर्दछन्। त्यसका लागि विद्यालयले सुनौलो अवसर प्रदान गर्नुपर्छ र हरेक शिक्षित, दीक्षित व्यक्ति जस्तै डाक्टर, इन्जिनियर, शिक्षक, न्यायाधीश, कर्मचारी जो होस्: एउटा असल संस्कार सहितको हुनुपर्छ जसले समाज र राष्ट्रको हितमा अग्रणी भूमिका खेल्न, असल मार्ग निर्देशन गर्न एक इमान्दार, सहयोगी, अनुशासित, चरित्रवान र असल व्यक्ति बन्न सकोस्।

 

रबिन बस्नेत, प्रिन्सिपल, ज्ञानमन्दिर सेकेन्डरी इंग्लिश स्कूल, बालाजु, काठमाडौँ