निरीक्षकको लापरवाही : राष्ट्रिय परीक्षा बोर्डले अनुत्तीर्ण विद्यार्थीलाई पासको सूचीमा राख्यो

निरीक्षकको लापरवाही : राष्ट्रिय परीक्षा बोर्डले अनुत्तीर्ण विद्यार्थीलाई पासको सूचीमा राख्यो
एडुपाना शुक्रबार, कात्तिक २३, २०८१

एसईई परीक्षामा निरीक्षकको लापरवाहीका कारण अनुत्तीर्ण भएका केपिलासगढी–५, थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईलाई राष्ट्रिय परीक्षा बोर्डले पास गरेको छ। शिवकुमारका आफन्तले परीक्षा निरीक्षकले उत्तरपुस्तिकामा हेरफेर गरेर फेल गराएको आरोपमा उजुरी दिएपछि बोर्डले पुनः जाँच गरी उनी उत्तीर्ण भएको घोषणा गरेको हो।

२०७९ चैत २० मा बाक्सिला केन्द्रमा विज्ञान विषयको परीक्षाका क्रममा निरीक्षकले उत्तरपुस्तिकामा केरमेट गरेको आरोप छ। कात्तिक ४ मा प्रकाशित सुधारिएको नतिजामा शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन्। यससँगै उनी गाउँपालिकाकै उत्कृष्ट छात्र घोषित भएका छन्, र गाउँपालिकाले उच्च अंक ल्याउने छात्रछात्रालाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ।

यस घटनाका निरीक्षकलाई कारबाहीको माग गर्दै विद्यालय व्यवस्थापन समितिले सम्बन्धित निकायमा उजुरी दिएको भए पनि हालसम्म कुनै कारबाही भएको छैन।