असल र प्रभावकारी अभिभावक कसरी बन्ने ?

असल र प्रभावकारी अभिभावक कसरी बन्ने ?
डी. आर दाहाल मंगलबार, माघ १८, २०७८

बच्चा जन्मेदेखि ठुलो हुँदासम्म बालबालिकाहरुको शारीरिक, बौद्धिक, सामाजिक र भावनात्मक बिकाशमा प्रमुख भूमिका अभिभावकको नै हुन्छ । बालबालिकाहरुमा असल संस्कार, सकारात्मक सोच र राम्रो आनीबानीहरुको बिकासको मुलश्रोत घर नै हो । प्रत्येक अभिभावकले आफ्ना बालबालिकाहरु अनुशाशित, सभ्य, जिम्मेवार, कर्मशील, सहयोगी र उच्च मनोबल तथा आत्मविश्वासले भरिएको जस्ता गुणहरूले सम्पन्न भएको देख्न चाहन्छन । यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने यस्ता गुणहरूले सम्पन्न भएका बालबालिकाहरु बनाउन चाहना राखेर मात्र हुदैन । त्यसको लागि अभिभावकले दृढ संकल्प लिई बालबालिकालाई शर्तरहितको माया, ममता दिने,   बोल्दा दिनहुँ सभ्य र मिठो भाषाको प्रयोग गर्ने, बारम्बार हौसला दिने, अप्ठेरोमा सहयोग गर्ने, उचित बातावरण र आबश्यक समयको उपलब्धता गराउने गर्नु अपरिहार्य हुन्छ । बालबालिकाहरुको जीवनमा सबैभन्दा गहिरो प्रभाव अभिभावकको पर्ने भएकोले प्रत्येक पलपलमा बालमनोबिज्ञानलाई ध्यानमा राखेर सचेततापूर्वक सहि मार्गनिर्देशन गर्नु प्रत्येक अभिभावकको अत्येंतै महत्वपुर्ण जीम्मेवारी र कर्तब्य हो ।

यहि कुरा नजानेर वा जानेरपनि बेवास्ता गर्ने थुप्रै अभिभावकहरुले बालबालिकाहरु  ठुला भएपछि आफुले पहिले कल्पना नै नगरेका दर्दनाक र पीडादायी थुप्रै भोगाईहरु भोग्नु परेको कुरा हाम्रै वरिपरी सुन्न र देख्न पाइन्छ । यहि कुरा मैले संचालन गर्दै आएको “ अभिभावक शिक्षा कार्यक्रम “ मा उपस्थित अभिभावकहरुबाट पनि प्रत्यक्ष रुपमा सुन्ने मौका पाएको छू ।

जस्तै : बालबालिकाहरु अभिभावकसंग ठुलो ठुलो स्वरले कराउने, भनेको कुरा नमान्ने, बिबाहपूर्व अनैतिक सम्बन्ध राख्ने, अल्कोहल, ड्रगतिर लाग्ने र कैयौले आत्म हत्या गरेको आदि ईत्यादी  ।

आखिर यस्तो किन भोग्नु पर्छ त ? जबकी प्रत्येक अभिभावकको लागि आफ्नो बालबच्चा भन्दा नजिकको र महत्वपुर्ण शायद अरु कोहि पनि हुदैन । आफ्ना ईच्छा, आकांक्षा र रहरहरुलाई पनि दबाएर जिन्दगीभरी पसिना चुहाएर आर्जन गरेको धन सम्पत्ति आफ्ना बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्नमा खर्चिन अत्येंतै खुसि हुने अभिभावकहरुले कहाँनेर के गल्ति गरेका थिए ? किन आफ्नै सन्तानबाट आज धोका र दुख पाइरहेका छन त ?

अब हामी चुरो र गहिरो कुरातिर लागौ । सबै समस्याहरुको जरो के हो त ?

अभिभावकहरुले कम होश पुराएको, चुकेको वा असफल भएको कहाँनेर हो त ?  अभिभावकहरु होशपूर्ण हुन नसकेको कतिपय बुदाँहरु मध्ये आज निम्नलिखित मुख्य दुइटा बुंदाहरुमा चर्चा गरौ ।

सहि उचित समयलाई अभिभावकाले बेवास्ता गर्नु : जब बच्चा अटेरी बन्दछ, अभिभावकले भनेको मान्दैन, कुरा पनि सुन्दैन, अभिभावकसंग ठुलो ठुलो स्वरले बोल्न थाल्दछ, मुखभरी जवाफ दिन शुरु गर्छ , त्यतिखेर अभिभावक सारै दिक्क चिन्तित देखिन्छन । त्यसपछि मात्र अभिभावकले अब के गर्ने होला ? कसरी बच्चालाई सुधार्ने होला ? कसको सहयोग लिने होला ? आदि ईत्यादी कुराहरु सोच्न थाल्दछन

याद गर्नुहोस यो समयसम्म आईपुग्दा बच्चा ठुला भैसकेका हुन्छन । बच्चाहरुका आफ्नै बिचार, मान्यता र बिश्वासहरु बनि सकेका हुन्छन । उनीहरुको मस्तिष्कमा धेरै कुराहरुले ठाउँ बनाई सकेका हुन्छन । त्यसैले जति बच्चाहरु ठुला हुदै जान्छन, तपाईले चाहेको कुराहरु सिकाउन उति नै गारो हुन्छ । कतिपय अबस्थामा त असम्भव जस्तै हुन्छ । ठुलो भैसकेपछि आजको दिनमा बच्चालाई जे बुझाउन वा सिकाउन प्रयास गरीरहेको हुन्छौ, तेही कुरा सानो उमेरदेखि नै सिकाउन चासो राखेको भए बच्चाले अभिभावक संग कुनै तर्कबितर्क, वा कुतर्कहरु नगरी अभिभावकको सम्पूर्ण कुराहरु शिरोधार्य गर्ने थिए । किनकि त्यो समयमा बच्चाको मस्तिष्कमा बाहिरी बाताबरणहरु जस्तै साथि, छरछिमेक, सन्चार माध्यमको प्रभाव खासै परेको हुदैन । खालि रहेको मस्तिष्कमा अभिभावकले असल कुराहरु जे जे भर्नु हुन्थियो , जीवनभरी त्यसले बच्चालाई सहि मार्गनिर्देशन गर्ने थियो । सानो बच्चाको मस्तिष्क गिलो माटो वा सानो बिरुवा जस्तै हुन्छ- त्यसलाई चाहे अनुसार आकार दिन वा मोडन सजिलैसँग सकिन्छ ।

अभिभावकहरुको एउटा ठुलो गल्ति यहि हो कि सानो उमेरमा बच्चा सानै छन भनेर लापरवाही गर्ने र ठुलोमा बच्चाले बाटो बिराई सकेपछी मात्रै आत्तिने र तात्तिने गर्ने ।

घरमा सहि तरिकाले अभिभाबकत्व गर्न नजान्नु : फरक बिचार र भावनाहरु तथा छुट्टै इच्छा र रहरहरुको कारणले अभिभावक र बच्चाको बिचमा कतिपय कुराहरु मा असहमति तथा द्वन्द भैरहेको हुन्छ , जुन बास्तवमा स्वभाविक प्रक्रिया हो । भनेको कुराहरु नमान्दा बच्चालाई अनुशाशित बनाउने क्रममा अभिभावकले संझाउने, बुझाउने देखि लिएर दण्ड सजाय सम्मका विभिन्न क्रिया प्रतिक्रियाहरु गर्नुपर्ने हुन्छ । ती सबै क्रियाप्रतिक्रियाहरु चाहे सकारात्मक होउन वा नकारात्मक होउन, सबैको भित्रि आशय बच्चाको भलाईको लागि नै हुन्छ, यसमा कसैको दुइमत छैन । तरपनि कतिपय ति क्रिया प्रतिक्रियाहरुले बच्चाको जीवनमा ठुलो नकारात्मक प्रभाव पनि परिरहेको हुन्छ भन्ने कुरा कतिपय अभिभावकहरुलाई थाहा नै हुदैन भने कतिपय अभिभावकहरुलाई थाहा भएपनी त्यो भन्दा असल र प्रभावकारी बिधिको अनभिज्ञताको कारणले फेरी पुरानै विधिमा फर्कनुपर्ने बाध्यता रहेको देखिन्छ । यो कुरालाई अझै स्पस्ट पार्न तल दिएको एउटा उदाहरण हेरौ ।

अबस्था : बिहानको समय छ । तपाईको बच्चा भिडीओ गेम खेलि रहेको छ । बच्चाले हाथमुख अझै धोएको छैन, गृहकार्य पनि गरेको छैन ,  स्कुलको ड्रेस लगाउन बाँकी छ, खाना पनि खाएको छैन ।  स्कुल जाने समय भैसकेको छ । केहि बेरपछि स्कुल बस आउछ, बच्चा तयार भै नसकेकोले बस पनि छुटीसक्छ ।

अभिभावकको प्रतिक्रिया: कल्पना गर्नुस कि यस्तो अबस्थामा धेरैजसो अभिभावकले कस्तो प्रतिक्रिया गर्नुहुन्छ होला ?

अभिभावक निकै स्ट्रेसमा पुग्नु हुन्छ, अनुहार रिसले भरिएको देखिन्छ ।

अभिभावकले ठुलो ठुलो स्वरले यसरि गालि गर्न शुरु गर्नु हुन्छ—तैले कति सताउछस ? तँ जस्तो खराब बच्चा हाम्रो छिमेकमा कोहि पनि छैनन । तेरो बुद्धि कहिल्यै पनि आएन । त मुर्ख, बुद्धिहिन, बाँदरलाई कति पटक सम्झाउनु पर्ने हो ? यस्ताको त अनुहार पनि हेर्न नपरे हुन्थ्यो । अभिभावकको रिस अझै बढ्दै जान्छ र भन्नु हुन्छ— पख, तलाई आज ठिक पार्छु भन्दै नजिक जानु हुन्छ र दुई , तीन थप्पड लागाउनु हुन्छ, अनि बच्चा रुन, चिच्चाउँन थाल्दछ ।

अब प्रत्येक अभिभावकले बुझ्नैपर्ने, जान्नैपर्ने महत्वपुर्ण विषयतिर जाउँ ।

अभिभावकहरुसंग केहि महत्वपूर्ण प्रश्नहरु राख्दै अगाडी बढन चाहन्छु ।

के तपाईका बच्चा उच्च मनोबल तथा आत्मविश्वासले भरिएको देख्न चाहनु हुन्छ ?

के तपाईका बच्चाहरुले सधै भरि तपाईको आदर, सम्मान गरुन भन्ने चाहनु हुन्छ ?

के तपाईको बच्चाहरु तपाईको सहयोगी बनुन भन्ने चाहनु हुन्छ ?

के तपाइको बच्चाहरुले आफ्नो जिम्मेवारी बुझुन र समस्या समाधान गर्न आफै सक्षम बनुन भन्ने चाहनु हुन्छ ?

के तपाईका बच्चासंग तपाईको सम्बन्ध जीवनभरी सुमधुर तथा राम्रो भै रहोस भन्ने चाहनु हुन्छ ?

अहिले पक्कै पनि तपाइको मनमा धेरै कुराहरु खेल्दै छन होला ? अब फेरी बच्चा र अभिभावकको बिचमा घटेको माथि  उल्लेख गरिएको घटनातिर जाउँ ।

हामीले बच्चाबाट आशा गरिरहेको कुराहरु र हाम्रो अभिभावकत्व गर्ने तरिका बिचको अन्तरद्वन्दलाई राम्ररि बुझ्न सक्यौ भने मात्र हामी प्रभावकारी र असल अभिभावक कसरी बन्ने भन्ने कुराको वोध हुनेछ ।

माथिको उदाहरणमा अभिभावकले बच्चालाई तँ खतम मान्छे, तँ जस्ता खराब बच्चाहरु छिमेकमा कोहि पनि छैनन् भनिरहदा बच्चाको मनोबल वा आत्मविश्वास प्रति नकारात्मक असर पर्छ कि पर्दैन ?

अभिभावकले बच्चालाई तथानाम गालि गर्ने, ठुलो ठुलो स्वरले हकार्ने, रिसाउने , अश्लील शब्दहरु प्रयोग गर्ने गरिरहदा बच्चाले अरुको आदर, सम्मान गर्ने कुरा कसरी सिक्न सक्ला र ?

बच्चाको उमेर अनुसारको बिचार, भावना, इच्छा र रहरको कुनै ख्याल नगरी पूर्ण बेवास्ता गर्ने र आबश्यक परेको समयमा सहयोगी बन्नुको साटोमा उल्टै रिसाउने र तर्साउने अभिभावकहरु प्रति बच्चामा सहयोगी भावनाको बिकासको जन्म कसरी हुन सक्छ र ?

समस्या आएको समयमा अभिभावकले बच्चालाई कुटने, पिटने र दण्ड सजाय दिने जस्ता उपायहरु मात्रै अपनाउने र समस्या सुल्झाउने तरिका नसिकाउने हो भने हो भने बच्चाले आउदा दिनहरुको लागि “ समस्या समाधान गर्ने बिधि “ कसरी सिक्न सक्छ र ?

बच्चालाई मुर्ख, बुद्धिहीन, बेकुफ, बाँदर जस्ता नाम दिएर निरुत्साहित गर्ने, तर्साउने , हप्काउने, दण्ड सजाय दिने आदि ईत्यादी क्रियाकलापहरुले अभिभावकसंग बच्चाको सम्बन्ध बर्बाद हुदैन र ?

अब हामी निष्कर्स तिर जाउँ । माथिको उदाहरणबाट धेरैजसो अभिभावकहरुले बच्चा बाट जे आशा गर्नुहुन्छ अथवा बच्चालाई जे सिकाउन चाहनुहुन्छ, त्यसको ठिक बिपरित तरिकाले घरमा दिनहु जसो प्रतिक्रिया गर्ने गर्नु हुन्छ । आफुले सिकाउदै नसिकाएको कुराहरु बच्चाबाट अभिभावकले आशा गर्नु भन्दा सिकाउन शुरुआत गर्नु पक्कै राम्रो कुरा हो । त्यसैले मैले सबै अभिभावकहरुबाट के आशा गर्छु भने हामीहरुले बच्चाबाट जे जस्तो आशा गरेका हुन्छौ , ठिक तेस्तै व्यवहार आजैबाट गर्न शुरु गरौ, अभिभावक नै उदाहरण बन्ने संकल्प गरौ । किनकि “ तपाइले के भन्नुहुन्छ भन्दा पनि तपाईले के गर्नु हुन्छ भन्ने कुरा नै बच्चाहरुले छिटो र सजिलो गरी सिक्ने गर्दछन ” ।

लेखक लाईफ कोचिंग एकेडेमी, नयाँ बानेश्वरका प्रशिक्षक हुनुहुन्छ ।