समाजवादी विद्यार्थी युनियनद्वारा त्रिविका उपकुलपतिलाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण

समाजवादी विद्यार्थी युनियनद्वारा त्रिविका उपकुलपतिलाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण
एडुपाना बिहीबार, कात्तिक ८, २०८१

नेपाल समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति) अन्तर्गतको विद्यार्थी संगठनले उक्त ज्ञापनपत्र बुझाउँदै १५ दिने अल्टिमेटम समेत दिएको छ।

ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक भागवण्डा र पार्टीको नाममा भर्ती केन्द्र बनाउँदै शैक्षिक जनशक्तिको बजारीकरण गरी गरिएका गतिविधिहरू रोक्न माग गरिएको छ। साथै, सेवा आयोगबाट हुने विज्ञापनमा कुल पदहरूको ४५ प्रतिशत समावेशी खोल्नुपर्ने र पारसनाथ यादवको नेतृत्वमा तयार गरिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।ज्ञापनपत्रमा विश्वविद्यालयको शैक्षिक प्रयोजन बाहेकका जग्गा व्यापारी प्रयोजनका लागि गरिएको सम्झौता तुरुन्त खारेज गर्न र अव्यवस्थित रूपमा सम्बन्धन दिइएका कलेजहरूलाई व्यवस्थित नगरी विना आधार क्यूएए प्राप्त कलेजहरूमा कार्यक्रम थप्ने निर्णय रोक्न पनि माग गरिएको छ।

डिन र क्याम्पस प्रमुखहरूको नियुक्ति सिफारिस समितिको सुझावअनुसार वरिष्ठता र मेरिटोक्रेसीको आधारमा गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ। आफूहरूले राखेका मागहरूको बेवास्ता गरेमा जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत विद्यार्थी युनियनले दिएको छ।