पहिलोपल्ट मिस कर्पोरेट नेपाल आयोजना हुँदै

पहिलोपल्ट मिस कर्पोरेट नेपाल आयोजना हुँदै
एडुपाना मंगलबार, माघ १८, २०७८

काठमाडाैं । नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्।

त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको छ।

कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलियाले कर्पोरेट क्षेत्रमा महिला नेतृत्व कम भएको बताए। उनले सबैभन्दा धेरै महिलाले काम गर्ने भनिएको बैंकमा समेत उच्च ओहोदामा महिला पुग्न नसकेको उल्लेख गरे। यस्ता सौन्दर्य प्रतियोगिताले कर्पोरेट क्षेत्रमा महिलालाई पनि उच्च ओहोदामा पुर्याउन मद्दत गर्नेमा थपलियाले विश्वास व्यक्त गरे।

यता, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले भने ४० प्रतिशत महिला बैंकमा काम गर्ने बताउँदै कर्पोरेट क्षेत्रमा लैंङ्गिक समानता रहेको बताए। कर्पोरेट क्षेत्रको सबैभन्दा धेरै महिला कामदार भएको क्षेत्र नै बैंक हो। नविल बैंकले महिला सशक्तिकरणसँगै मिटू लगायतका बिषयमा समेत छलफल गर्ने गरेका छाैं, ‘ उनले भने। अब हुन लागेको मिस कर्पोरेट नेपालले यसलाई अझै महत्वपूर्ण रुपमा अगाडी लैजाने उनको भनाइ छ।

एक कार्यक्रमको आयोजना गर्दै अनुजा मिडियाले कुनै पनि पेशामा आबद्व भएका महिलाले आफ्नो कार्यक्षेत्र एवम् सौन्दर्यसंगै अन्य केहि फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै देश तथा युवावर्गलाई सशक्त एवम् प्रेरित गर्न सक्षम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो । यस प्रतियोगिताले कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लिडरसिपको समेत विकास हुने आयोजकको विश्वास रहेको छ ।

कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले कुनै न कुनै पेशामा आबद्व भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम समेत रहेको भाव व्यक्त गरेकी छिन् ।

कार्यक्रममा गायक निर्णय श्रेष्ठ, ब्यबसायीहरु रजत श्रेष्ठ, मोहन ओझा, सन्जीव थापा, बिष्णु बहादुर कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थिती थियो ।