तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं : शिक्षामन्त्री पौडेल

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार बनाउँछौं : शिक्षामन्त्री पौडेल
एडुपाना शुक्रबार, फाल्गुन ६, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी ३ वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनाउने बताएका छन् ।

बिहीबार शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौं महानगरपालिका–१७ ठहिटीको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्ष भित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउँने बताएका हुन् ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत करिब १९ सय विद्यालय बनेका छन्’मन्त्री पौडेलले भने, ‘देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन् ।’ मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नु पर्नेमा जोड दिए ।

पूर्वाधार निर्माणसँग, ‘पढ्दै कमाउँदै’कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थमन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयहरुमा सोही कार्यक्रम जाने पनि बताए ।

बैशाखबाटै शैक्षिक सत्र शुरु गर्ने मन्त्रालयले निर्णय गरेको बताउँदै जेष्ठ १ गतेबाट कक्षा सञ्चालन हुने बताए ।

शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसीटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको बताए । उनले संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानुनमा पठाएको दोहोराए ।

२०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षेतिग्रस्त भइ नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को विपद् उत्थान शील विद्यालय परियोजना मार्फत ४ करोड १७ लाखमा २२ कोठे भवन बनेको हो ।

अर्थ मन्त्रीसँग छलफल मन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थ मन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन् । बिहीबार मन्त्री पौडेलले धितो राखेर ऋण दिने विषयमा छलफल गरेका हुन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्नातक सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो । बजेटमा सहुलियत पूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ ।