पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि हुन नसकेकोमा यो वर्ष १७ औं दीक्षान्त समारोह आइतबार सम्पन्न भएको हो । दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गर्ने तय भएतापनि अन्तिम समयमा सहभागि हुन नसकेपछि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गरेका थिए । त्यसैगरी समारोहमा शिक्षामन्त्री पनि आउने भनिएपनि उनिपनि उपस्थित हुन सकेनन् ।
दीक्षान्त समारोहको अध्यक्षता गरेका विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयको आफ्नै एउटा छुट्टै पहिचान रहेको र नेपालका अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए । उनले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने बताए ।
दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उपकुलपतिले भने “तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुर्ण दक्ष युवाहरू विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबूत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।” उपकुलपतिले आफ्नो सीप र दक्षतालाई विद्यार्थीले देशको गौरव तथा प्रतिष्ठा बढाउन सदुपयोग गर्नुपर्ने बताए । यसका लागि प्रतिबद्धता सहित दत्तचित्त, कर्मठ र कर्तव्यपथमा अडिग र निर्भिक भएर लाग्न विद्यार्थीलाई आग्रह गरे ।
दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् एवम् काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनि रहेको उल्लेख गरे उनले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वानहरूको प्रचुरता रहेको, राम्रा विद्यापिठहरू पनि यहि रहेको तथा जलविद्युत उत्पादनमा पनि अग्रणी रहेको उल्लेख गरे । उनले देश प्राकृतिक स्रोत र साधनले धनि हुँदाहुँदै पनि विज्ञान र प्रविधिमा पछि रहेको तथा जलस्रोत र यातायात क्षेत्रले पनि अपेक्षित गति लिन नसकेकोमा दुःख व्यक्त गरे ।
देशमा युवा बेरोजगारीको कहाली लाग्दो अवस्था रहेको र व्यापार सन्तुलन घाटामा रहेको उल्लेख गर्दै हामीलाई मागेर खाने होइन गरेर खाने शिक्षा चाहिएको बताए । भने हामीले देशभित्रै कृषि क्षेत्रमा क्रान्ति ल्याई उत्पादनलाई निर्यात गर्नुपर्ने र विदेशी सहायता रोक्नुपर्छ । यसका लागि देशभित्र उच्च, मध्यम र तल्लोस्तरको अत्यधिक दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै प्रविधि, स्वास्थ्य, सञ्चार, कृषि र निर्माण क्षेत्रको विकासमा मुलुकले गम्भिर भएर सोच्नुपर्नेमा जोड दिए ।
दीक्षान्त समारोहमा स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिक शास्त्र संकाय डीन सह–डा. अजय थापाले पोखरा विश्वविद्यालय गण्डकी प्रदेशको मात्र नभई उच्चशिक्षामा विशिष्टिकृत पहिचान दिदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको बताए । उनले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू स्तरीय, रोजगारमुखी, बजारोन्मुख, उत्पादनमुखी र व्यवसायिक किसिमका रहेकाले यसले मुलुकको सर्वाङ्गिण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई सहज तुल्याएको उल्लेख गरे ।
विद्यार्थी राष्ट्रका गहना र अमूल्य रत्न भएकाले आफ्नो कर्तव्यपथमा नडगमगाई निर्वाध स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहकको रूपमा दीक्षान्त समारोहमा शपथ लिनुपर्नेमा जोड दिए ।
विश्वविद्यालयको प्राङ्गणमा आयोजित १७ औं दीक्षान्तको विशेष समारोहमा २०७५ चैत्र २० गतेपछि २०७८ साल फागुन महिनाको १ गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रमका तह उत्तिर्ण गरेका कुल ११,२६८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापन तर्फको विद्यावारिधि तहमा तीन जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तर तहमा ४९४ जना र स्नातक तहमा २,५२१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ जना र स्नातकतहमा १,०१४ जना छन् ।
त्यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तर तहमा ९३ जना र स्नातक तहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तर तहमा १,६९६ जना र स्नातक तहमा ५२०५ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्तमा विभिन्न विधाका ९३१ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन संकायको स्नातकोत्तर तहमा २१९ जना र स्नातक तहमा ३९० जना, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तर तहमा १८ जना र स्नातक तहमा ९५ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तर तहमा ५७ जना र स्नातक तहमा १३६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिल तहमा ५ जना, स्नातकोत्तर तहमा ६ जना र स्नातक तहमा ५ जना विद्यार्थी रहेका छन् ।
दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातक तहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तर तहका विभिन्न विद्यामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै कम्प्यूटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिईएम गोल्ड मेडलबाट विभूषित गरिएको थियो ।