श्रीलङ्का सरकासँग पैसाको अभावले कागज किन्न नसकेपछि विद्यालय तहको वार्षिक परीक्षा स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकाले अनिश्चित कालका लागि परीक्षा स्थगित भएको हो ।
करीब ४५ लाख विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । तर, श्रीलङ्का सरकारले खराब आर्थिक संकटका कारण सरकारसँग पर्याप्त डलर नभएपछि स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले समाचारमा उल्लेख गरेको छ ।
यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा भाग हो । यो सँगै विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव देखिएको छ । वैदेशिक ऋणको जालोमा फसेको श्रीलङ्कामा कोरोना महामारीको कारण चरम आर्थिक सङ्कट देखा परेको हो ।