कक्षा कोठामा स्टिम शिक्षण पद्धतिको प्रयोग र शिक्षकको भूमिका ४

कक्षा कोठामा स्टिम शिक्षण पद्धतिको प्रयोग र शिक्षकको भूमिका ४
एडुपाना शुक्रबार, असार ३, २०७९

सार-पछिल्लो समयमा नेपालमा स्टिम शिक्षण पद्धतिको विकास हुँदै गएको छ । केही विद्यालयहरुले स्टिम शिक्षण पद्धतिको प्रयोग गरेर विद्यालय तहमा पठनपाठन गरिरहेका छन् । तर, यसको प्रयोग केहि सार्वजनिक विद्यालय तथा संस्थागत विद्यालयहरुमा भएको छ । सिप र संस्कार सहित व्यवहारिक शिक्षाको चर्चा परीचर्चा गरिएपनि यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा धेरै शिक्षक अनविज्ञ नै छन् । यिनै विषयमा रहेर विद्यालयमा स्टिम शिक्षाण पद्धतिको प्रयोग र यसले पार्ने प्रभाव बारे काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका उपप्रध्यापक तथा स्टिम एजुकेसनका विभागीय प्रमुख विनोद प्रसाद पन्तसँग गरीएको संवाद :

अर्को यसको दृष्टिकोण भनेको स्टिममा (STEAM) मा भएको “ए ” (A)ले कलालाई जनाउँछ । स्टिमबाट “ए ” (A) लाई छुट्टयाइयो भने स्टेम (STEM) हुन्छ । यसरी हेर्दा के देखिन्छ भने विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित भन्ने विषय वस्तुहरु एकाइसौं शताब्दिमा एकदमै महत्वपूर्ण छन् तर यसलाई निरश रुपमा कक्षाकोठामा तथा शैक्षणिक क्रियाकलापमा प्रस्तुत गरेको पाइन्छ । शिक्षकले पढाउँदा निरश भन्दा पनि यी विषय वस्तुहरुलाई कलाका माध्यमबाट सिकाउँदा अझ शिक्षण सिकाई प्रभावकारी र रमाइलो हुन्छ भनेर नै पछिल्लो समयमा सिकाइमा कलाको प्रयोग गरिएको छ । त्यसलाई स्टिम एजुकेशनले समेटेको छ ।

अहिलेको नेपाली शिक्षा प्रणालीमा देखिएको समस्यालाई स्टिम शिक्षाको प्रयोगले कसरी परीवर्तन ल्याउन सक्छ ?

नेपाली शिक्षा प्रणालीका समस्या धरै तहहरुमा होलान् र छन् । जस्तोः बजेट विनियोजनमा, पाठ्यक्रम निर्माणमा, शैक्षिक संस्थाहरु व्यावस्थापनमा, अभिभावकको भूमिका देखि लिएर धेरै कुराहरुमा समस्या होलान् । तर, अन्य समस्या भन्दा पनि मैले शिक्षण सिकाई क्रियाकलापको बारेमा मात्र भन्दै छु । शिक्षण सिकाई क्रियाकलापसँग जोडिएका समस्या भन्ने हो भने पहिलो समस्या भनेको जति पनि शिक्षक हुनुहुन्छ विषयगत शिक्षकहरु हुनुहुन्छ । विषयगत ज्ञान र सिप उनीहरुसँग हुन्छ तर त्यो विषयगत ज्ञानलाई र सिपलाई समाज तथा सन्दर्भसँग साक्षात्कार गरेर कसरी सिकाउने भन्ने ज्ञान तथा सीपहरुमा कमि भएको पाइन्छ । दोस्रो, हामीले जुन विषय पढ्छौँ र पढाउँछौँ त्यसको अर्को विषयहरुसँगको सम्बन्ध केलाउन वा पत्ता लगाउन नसक्नु हो । यसले विद्यार्थीलाई एउटा विषयवस्तुको सिकाइ गर्न गाह्रो हुन्छ भन्ने कुराको प्रमाणित विभिन्न अनुसन्धानहरुले गरेका छन् । साथै शिक्षकहरुले पनि के देख्छन भने जसले विज्ञान पढीरहेको छ उसले त्यहाँ पुरै विज्ञानको साइन्टिफिक विचार बाहेक भाषागत विषयहरु कम देख्ने अथवा त्यहाँ सामाजिक विषयका कुराहरु नदेख्ने हुन्छ । त्यसैले एउटा विषय वस्तुमा अरु विषय वस्तुको पनि उपस्थिती छ भन्ने कम देखिने भयो ।

तेस्रो समस्या भनेको हामीले जति पनि विज्ञान, गणित, भाषा लगायतका कुराहरु पढ्छौं यसलाई हामीले कलात्मक बनाउन सकेनौं । कलात्मक बनाउन सकिएन भने विद्यार्थीमा मोटिभेसन जगाउन सकिदैन । कलात्मक भन्न खोजेको के हो भने, अहिलेसम्म मैले संसारमा एउटा मान्छे देखेको छैन जसले मलाई कथा, कविता, गीत मन पर्दैन भनेर भन्छ । किनकी मान्छेलाई प्राकृतिक रुपमा कलात्मक नै हुन्छ । विद्यार्थीहरुलाई त झन कला धेरै नै मन पर्ने हुन्छ किनकी प्राकृतिक रुपमा उनीहरु कलाप्रति धेरै नै आकर्षित हुन्छन् । यसकारण गणितलाई किन कथा, कविता, गीत, नाटक मार्फत नसिकाउने भन्ने विषय हो । यो गर्नका लागि हामीले पनि त्यसरी नै सिकेको भए हामीलाई नेचुरल लाग्दो रँैछ । तर, हामीले त्यसरी नसिक्दा पछि सिकेर पढ्दा हामीलाई यती धेरै वर्ष मैले सिकिन अहिले किन परिवर्तन हुने भन्ने साँगुरो सोच बन्दो रहेछ । त्यो शिक्षक साथीहरुमा यस्तो खालको सोँच हटाउनको लागि अलि बढी समस्या छ ।

स्टिम बिधि वा दृष्टिकोणले जोड दिने अर्को महत्वपूर्ण कुरा भनेको एकभन्दा बढि शिक्षकहरु विच सहकार्य हुनुपर्छ भन्ने हो । अहिलेको नयाँ पाठ्क्रमलाई हेर्ने हो भने परीयोजना कार्यलाई पाठ्यक्रममा राखिएको छ । पाठ्यक्रममा स्पष्ट के लेखिएको छ भने सकेसम्म दुई वा दुई भन्दा बढी विषयहरुसँग जोडिएको वा सम्बन्ध राख्ने मल्टी डिसिप्लिनरी प्रोजेक्टहरु बनाउन र त्यसको प्रयोग शिक्षण सिकाइको क्रममा गर्न भनिएको छ । त्यो भनेको शिक्षक के कुरामा बाध्य भयो भने अर्को शिक्षकसँग तपाइले कुन महिनामा के पढाउनु हुन्छ, सिकाइ उद्देश्यहरु के–के छ, मेरो यस्तो छ, तपाइ र म मिलेर एउटा परीयोजना बनाउँ भनेर जोड्न सक्यो तथा सहकार्य गर्न सकिन्छ । यसको फाइदा भनेको विद्यार्थीले पनि फरक तरीकाले सिक्न पाउनु हो । यो सँगै शिक्षक शिक्षकले पनि एक अर्काको विषयमा सम्बन्ध घुलन गराउँन सक्छन् तथा विषयविचको सम्बन्धहरु पनि पत्ता लगाउन सक्छन् भन्ने हो । मैले जोड्न खोजेको के हो भने यसको जुन टेक्नोलोजिको भन्ने कम्पोनेन्ट छ यसको उद्देश्य भनेको प्रविधिलाई प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउने भन्ने हो ।

पाठ्यक्रममा स्पष्ट के लेखिएको छ भने सकेसम्म दुई वा दुई भन्दा बढी विषयहरुसँग जोडिएको वा सम्बन्ध राख्ने मल्टी डिसिप्लिनरी प्रोजेक्टहरु बनाउन र त्यसको प्रयोग शिक्षण सिकाइको क्रममा गर्न भनिएको छ ।

टेक्नोलोजिले कुनै पनि विषयवस्तुलाई श्रब्य–दृष्यको माध्यमबाट तथा चित्रहरुको प्रयोगबाट प्रभावकारी रुपमा सिक्नको लागि सहयोग गर्दछ । हामीले विषयवस्तुको प्रस्तुती व्याख्यान तथा अन्य विधीबाट त गर्छौ तर त्यो केहो, कुन विद्यार्थीले त्यसलाई कसरी लिएको छ, विषयवस्तुको अवधारणालाई निर्माण गर्न सक्यो कि सकेन भन्ने कुरा विद्यार्थीको दिमागमा छिरेर बुझ्न सक्दैनौ वा प्रभावकारी भयो भएन भनेर पत्ता लगाउन सक्दैनौ, तर टेक्नोलोजिले गाह्रो भन्दा गाह्रो अवधारणाहरुलाई पनि विभिन्न माध्यमहरुबाट प्रस्तुती गरी सिक्नको लागि सहयोग गर्दछ ।

व्यवहारिक शिक्षा र स्टिम शिक्षालाई सँगसँगै कसरी प्रयोग गर्न सकिन्छ ?

व्यवहारिक शिक्षासँगको सम्बन्ध कस्तो छ भन्दा पनि हामीले यसलाई स्टिमसँग कसरी जोड्न सक्छौँ भन्ने हो । नेपाली विषय पढाउँदा पनि स्टिमसँग जोडेर पढाउन सकिन्छ । तर, व्यवहार भन्ने वित्तिकै वास्तिविक जीवनसँग जोडिने हुनाले यो आफैमा रुचिकर हुन्छ । व्यवहारिक शिक्षा भन्ने वित्तिकै पैसा कमाउनेसँग मात्र जोडेर हेरिनु हुँदैन । जस्तै : विद्यार्थीको सोचाइ सिपको विकास गर्न सकियो भने त्यो व्यवहारिक शिक्षा हो भनेर बुझ्नु पर्छ किनभने जीवनमा सोचाइ सिपको उत्तिकै आवश्यकता हुन्छ त्यसकारण पनि सोचाइ सिप निर्माण गर्नेगरी पढाइयो भने पनि त्यो व्यवहारीक शिक्षा हो ।

यो स्टिम शिक्षासँग कसरी जोडिन्छ भने स्टिम दृष्टिकोणले परीयोजना कार्यमार्फत सिकाइ शिक्षण गरौँ भन्छ । परीयोजना कार्य गर्ने भनेको विषयवस्तुहरु सिकाउनका लागि त्यसलाई समाज तथा सन्दर्भसँग साक्षात्कार गरेका समस्याहरुसँग जोड्नै पर्छ । यसमा घर परीवार भन्दा बाहिर निस्केर अरु कुरा हेर्नुपर्छ, देख्नु पर्छ, सरसल्लाह गर्नुपर्छ, समाजमा भएका व्यक्तिहरुसँग अन्तरक्रिया गर्नुपर्छ । यो भनेको उसले आफु बसेको समाज कस्तो छ, कसरी बनेको छ, कस्ता किसिमका उब्जनी, खेती किसानी भइरहेका छन्, के के व्यापार व्यवसाय हुने रैछ लगायतका सबै कुरा बुझ्दछ ।

विद्यार्थीलाई प्रतिस्पर्धा गर्न भन्दापनि समुहमा सहकार्य गरेर काम गर्नुपर्छ भन्ने सिकाउनु पर्छ । प्रतिस्पर्धा होस तर अरुलाई सानो बनाएर आफु ठुलो हुने होइन भन्ने भावना जगाउँछ ।

अर्को स्टिममा पनि ट्रासफरमेटिभ स्टिम एजुकेसन हुन्छ जसले परीवर्तन ल्याउनु पर्छ भन्छ । जस्तै हामीले अहिलेसम्म विद्यालय तहमा ज्ञान र सिप सिकाउनु पर्छ भन्यौं । स्टिमको “ए” ले मूल्य, मान्यता अनि संस्कार जनाउँछ, यसमा हामीले कस्तो किसिमको मान्यता बोकेको विद्यार्थी उत्पादन गर्ने हो । समाजमा मिलेर बस्नु पर्छ, समाजमा धेरै पेसा व्यवसाय गरेको मानिसहरु हुन्छन भन्ने जस्तो मान्यता विद्यार्थीलाई बताएर होइन समुहमा राखेर सिकाए पछि बल्ल विद्यार्थीले समुहको महत्व र यसको राम्रो पक्ष जान्दछ । त्यसकारण विद्यार्थीलाई प्रतिस्पर्धा गर्न भन्दापनि समुहमा सहकार्य गरेर काम गर्नुपर्छ भन्ने सिकाउनु पर्छ । प्रतिस्पर्धा होस तर अरुलाई सानो बनाएर आफु ठुलो हुने होइन भन्ने भावना जगाउँछ ।

शिक्षक कक्षा कोठामा गइसके पछि स्टिम एजुकेशनको अप्रोचलाई प्रयोग गरेर विद्यार्थीलाई कसरी पढाउन सक्छ ?

यसको चार–पाँचवटा कुराहरु छन् । पहिलो शिक्षण सिकाई क्रियाकलाप खोजमुलक हुनु पर्छ । अहिले पढाउँदा शिक्षकले सबै कुरा बताइदिने, भन्दिने लगायत सबै दिनुपर्छ भन्ने धारणा छ । तर यो नगरी यसमा विद्यार्थीलाई खोज्न लगाउने, पत्ता लगाउन लगाउने र खोजि गर्ने बानीको विकास गराउने गरीनुपर्छ । दोस्रो विषयवस्तु र सन्दर्भ हो । स्टिमले विषयवस्तु भन्दा सन्दर्भ पहिला आउँछ भन्छ । जस्तै शिक्षकले कुन सन्दर्भमा विषयवस्तु पढाउँने भन्ने कुरा थाहा हुनुपर्छ । तेस्रोमा खोजमुलक सिकाई हुनका लागि परीयोजना कार्यमा आधारित सिकाई हुनु पर्छ र शिक्षकले कुन पाठमा कुन परीयोजना कार्य दिने भन्ने योजना बनाउनु पर्छ । कम्तिमा हरेक पाठमा एउटा परीयोजना कार्यको योजना बनाउन आवश्यक छ ।

चौथोमा कक्षा कोठालाई कलात्मक बनाएर पढाउन सकिन्छ । शिक्षकहरुले कलाका फरक फरक आयामहरू सिक्नै पर्छ । जस्तै : शिक्षकले गीत गाउन जन्नै प¥यो, कथा भन्न जान्न प¥यो, विद्यार्थीलाई नाटक देखाउन जान्न प¥यो आदि । यो विद्यार्थीहरुले के मन पराउँछन त्यसैअनुरुप सिकाउन सक्नु पर्छ र विद्यार्थीहरुलाई सहभागी गराउन सक्नु पर्छ । जुन परीवेशमा जे छ त्यो सँगै जोडेर पढाउन सक्नु पर्छ ।

पाँचौ भनेको अहिले हरेक विद्यार्थी प्रविधिमा अगाडि छन् उनीहरुलाई शिक्षण सिकाई क्रियाकलाप आइटीसँग लगेर जोड्नु प¥यो वा टेक्नोलोजीको माध्यमद्धारा पढाउनु पर्ने हुन्छ । अबको गृहकार्य कापीमा लगेर बुझाउने मात्र होइन । सम्भब भएको अबस्थामा विद्यार्थीहरुलाई ब्लग वा वेबसाइट बनाएर आफ्ना कुरा हाल्न लगाउनुपर्छ । यसले विद्यार्थीलाई खोज्न, बुझ्न र आइटीको ज्ञान लिन सहयोग गर्छ ।

काठमाडौं विश्वविद्यालयको स्टिम एजुकेसनमा आगामि योजना के छ ? शिक्षकहरुसँग कसरी जोडिन खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयले यस कार्यक्रमलाई समान्य रुपमा भन्दा पनि देशभित्रका विद्यालय तहको शिक्षालाई आमुल परिवर्तन गर्नुपर्छ भन्ने उद्धेश्यका साथ अगाडि बढाएका छौं । त्यसैले पिएचडी स्टिम एजुकेसन, एमफिल स्टिम एजुकेसन, एमएड स्टिम एजुकेसन (यो एक वर्षको कोर्ष हो जुन जुनसुकै विषयमा मास्टर्स अध्ययन गरेकाले पढ्न सक्छन्) र एन्म्भ् स्टिम एजुकेसन (यो एक वर्षको कोर्ष हो जुन जुनसुकै विषयमा स्नातक अध्ययन गरेकाले पढ्न सक्छन्) सञ्चालन गरिएको छ । पछिल्लो समय विश्वविद्यालयले यी बाहेक शिक्षकहरुलाई लक्षित गरी मोड्युलर कोर्स निर्माण गर्दै छौं । विद्यालय तहमा पढाउने शिक्षकहरुको आवश्यकतालाई मध्यनजर गर्दै स्टिम पद्धतिमा केहि घण्टाको कोर्ष निर्माण गरीदै छ ।

साथै परियोजना कार्यको निर्माण र प्रयोग, विद्यार्थी मुल्याङ्कन, शिक्षण सिकाइमा कलाको प्रयोग लगायतका विषय वस्तु समावेश गरी मोड्युलर कोर्ष निर्माण भइरेको र प्रयोगात्मक आधारमा बनाईएको र विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड अनुसार पूर्णरुपमा लिएको अवस्थामा प्रमाण पत्र समेत उपलब्ध गराइने छ । शिक्षकहरुका लागि निर्माण गरीएको कोर्षहरु भएपनि इच्छुक सबैले अध्ययन गर्न सक्ने छन् ।