बलात्कार आरोपित प्रिन्सिपल पुर्पक्षका लागि थुनामा

बलात्कार आरोपित प्रिन्सिपल पुर्पक्षका लागि थुनामा
एडुपाना बिहीबार, जेठ १९, २०७९

आफ्नै छात्रामाथि बलात्कार गरेको आरोप लागेका सुनसरी इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्का कारागार चलान भएका छन्।

सुनसरी जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। २०७२–७३ सालताका स्कुलमा अध्ययनरत एक विद्यार्थीलाई उनले पटकपटक बलात्कार गरेको पीडितले बताएकी छन्। घटना कसैलाई सुनाए पढाइ बर्बाद पारिदिने, स्कुलबाट निकालिदिने धम्की दिँदै प्रिन्सिपल खड्काले उनीमाथि पटकपटक दुर्व्यवहार गरेको अभियोग छ।

सिन्धुली जिल्लाको कमलामाइ–७ घर भएका खड्का पछिल्लो समय काठमाडौंमा स्कुल चलाएर बसेका थिए। पीडित विद्यार्थीले चार वर्षअघि नै सुनसरी प्रहरीमा जाहेरी दिएपछि खड्काले इटहरी छाडेका थिए। त्यसयता प्रहरीबाट जोगिँदै आएका थिए। प्रहरीले उनलाई 'फरार' सूचीमा राखेको थियो। घटनाबारे प्रहरीले चासो दिएको थिएन।

यसपटक भने सौन्दर्य प्रतियोगिताका क्रममा आफूमाथि भएको अत्याचारविरूद्ध एक युवतीले सार्वजनिक रूपमा मुख खोलेपछि इटहरीकी पीडितले पनि आफ्नो पीडा सार्वजनिक गरेकी थिइन्। लगत्तै दोषीमाथि कारवाही थाल्न ठूलो दबाब सिर्जना भएको थियो।

लगत्तै खड्काको खोजीमा जुटेको प्रहरीले उनलाई काठमाडौंको त्रिपुरेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो। यसपछि उनलाई सुनसरी ल्याइएको थियो। सोमबार सुनसरी जिल्ला अदालत सुनसरीमा बुझाइएका उनलाई न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

अदालतका श्रेस्तेदार मोहनबहादुर अधिकारीले दिएको जानकारी अनुसार खड्काको बयान र थुनछेकपछि मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको हो। खड्कालाई झुम्का कारागार चलान गरिएको हो।