दरबन्दी र राहत शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने

दरबन्दी र राहत शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने
एडुपाना शुक्रबार, कात्तिक ९, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउनुपर्ने निर्णय गरेको छ।

असोज ११ र १२ गतेको निरन्तर वर्षाले उत्पन्न बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिबाट प्रभावित परिवारलाई राहत पुर्‍याउन शिक्षकहरूको एक दिनको तलब कोषमा जम्मा गर्न मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा राष्ट्रसेवक निजामती कर्मचारीहरूको हकमा, राजपत्रांकित अधिकृतहरूले दुई दिनको र अन्य कर्मचारीहरूले एक दिनको तलब कोषमा योगदान गर्नुपर्ने जनाएको छ। सोही निर्णय अनुसार, स्वीकृत दरबन्दीमा रहेका र राहत अनुदानमा काम गर्ने विद्यालय शिक्षकहरूको पनि एक दिनको तलब कोषमा पठाउनुपर्ने छ।

यसबाहेक, स्थानीय तहहरूलाई पनि सोही निर्णयअनुसार तलब कोषमा जम्मा गर्न अनुरोध गर्दै, निर्णयको कार्यान्वयन सुनिश्चित गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।