चितवनमा शिक्षक अस्पताल बन्ने

चितवनमा शिक्षक अस्पताल बन्ने
एडुपाना मंगलबार, माघ १८, २०७८

चितवनमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा केन्द्रीय शिक्षक अस्पताल बनाउने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।

भरतपुर महानगरपालिका १५ को भगवानपुरमा ३ सय शैयाको शिक्षक अस्पताल बन्ने छ । अस्पताल निर्माणका लागि सो ठाउँमा भरतपुर महानगरपालिकाले करिब ९ बिघा जग्गा उपलब्ध गराएको छ ।

अस्पतालको निर्माणको काम यसै वर्षबाट सुरु हुने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन् । उनले भनिन्, ‘यो भरतपुरवासीका लागि गौरवको विषय हो । यसले मेडिकल सिटी बन्नका लागि भरतपुरमा नयाँ आयाम थपेको छ ।’

शिक्षक अस्पताल निर्माण गर्न डा. विमल शर्मा चालिसेको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरिएको थियो । सो कमिटीले भरतपुर महानगरपालिकाको भगवानपुर, मकवानपुरको चित्लाङ र भक्तपुरको सूर्यविनायक नगरपालिकामा निर्माण गर्न सिफारिस गरेको थियो । सो अध्ययन कमिटीले सबैभन्दा उपयुक्त चितवनको भरतपुरमा हुने सिफारिस गरेको थियो ।

सरकारले सो निर्णय गरेपछि अब अर्थ मन्त्रालयले अस्पतालका लागि बजेट विनियोजन गर्नुपर्ने हुन्छ र त्यसपछि टेण्डर प्रक्रिया सुरु हुनेछ ।