त्रिवि केन्द्रीय कार्यालयका ताला खोल्न कर्मचारी संघको माग

त्रिवि केन्द्रीय कार्यालयका ताला खोल्न कर्मचारी संघको माग
एडुपाना आइतबार, फाल्गुन १, २०७८

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यलयमा तालाबन्दीका कारण सम्पूर्ण काम ठप्प भएको भन्दै त्रिवि कर्मचारी संघले तत्काल खोल्न आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै सम्वाद, वार्ता र सहमतिबाट समस्याको समाधान गर्न र अबिलम्ब तालाबन्दी खोल्न माग गरेको हो ।

कोरोना भाइरस महामारीका कारण सबै क्षेत्र थलिएको अवस्थामा कहिले विद्यार्थी र कहिले प्राध्यापकको मागमा त्रिवि बन्द गर्ने प्रवृत्ति बढेको भन्दै कर्मचारी संघले विरोध जनाएको छ ।

त्यस्तै, त्रिवि पदाधिकारीले पनि आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समाधान गर्नेभन्दा आफ्नो इच्छा अनुसार काम गरिरहेको कर्मचारी संघको आरोप छ ।

‘दुई महिना अघिदेखि त्रिविमा कहिले एक वर्गले कहिले अर्को वर्गले आलोपालो जस्तै गरी ताला लगाउने प्रवृत्तिले त्रिविका सम्पूर्ण कार्यहरू (दैनिक प्रशासनिक सञ्चालनदेखि कर्मचारी, प्राध्यापकका विज्ञापनलायत सबै कार्यहरू ठप्प भएका र त्रिविलाई पुरै बन्धक न बनाइएको छ’संघका अध्यक्ष भोजराज राउतले भनेका छन् ।

अहिले त्रिवि केन्द्रीय कार्यलयमा विभिन्न पक्षले तीनवटा ताला लगाएका छन् । जनकपुरस्थित युथ क्याम्पसलाई सम्बन्धनका लागि त्रिवि अनुगमन निर्देशनालयका कर्मचारीले घुस मागेको भन्दै ७ माघमा उपकुलपति, शिक्षाध्यक्ष, रेक्टर कार्यालयमा नेविसंघले ताला लगाएको थियो ।

त्यसपछि २१ माघमा आंशिक प्राध्यापकहरुले आंशिक प्राध्यापक र त्रिवि व्यवस्थापन समितिबीच भएको सम्झौता कार्यान्वयनको माग गर्दै उपकुलपति, शिक्षाध्यक्ष, रेक्टर कार्यलय र सबै डीन कार्यलयहरूमा तालाबन्दी गरेका छन् ।

भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालय पढेका विद्यार्थीहरूले समकक्षता नदिएको भन्दै रेक्टर कार्यालय र पाठ्यक्रम विकास केन्द्रमा ताला लगाएका छन् ।