नेपाल शिक्षक संघको ९ औं महाधिवेशन एक वर्षका लागि स्थगित गरिएपछि केही संघिय कार्य समितिका पदाधिकारी र सदस्यहरुले असहमति जनाएका छन् । अधिकांश जिल्लाको स्थानीय अधिवेशन सम्पन्न भई रहेको र कोभिडको संक्रमण सामान्य अवस्थामा आई भौतिक रुपमा विद्यालय संचालन भएको अवस्थामा नेपाल शिक्षक संघको विधान वमोजिम समयमै हुनुपर्ने अधिवेशन रोक्नु वा स्थगन गर्नु संस्थाको हित अनुकुल नहुने भन्दै असहमति जनाएका हुन् ।
अमर बहादुर खड्का, प्रेम प्रसाद भट्टराई, गंगा प्रसाद यादव गरी तिन जना संघिय उपाध्यक्ष रहेका छन् भने विर्ख बहादुर मल्ल सुदुरपश्चिम प्रदेश अध्यक्ष, पर्शुराम यादव संघिय उपमहासचिव र दोर्ण बहादुर वली नेपाल शिक्षक महासंघ सदस्य लगायतले असहमति जनाएका छन् ।
उनिहरुले नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र प्रसाद पौडेललाई पत्र मार्फत अधिवेशन रोकेर आफ्नो कार्यकाल आफै थप गर्दा आम शिक्षक समुदायमा नकरात्मक प्रभाव पर्न गई संस्था कम्जोर तथा निस्क्रिय हुने ठहर गर्दे असहमति जनाएका छन् । आफै निर्णयक तहमा बसेर आफ्नो कार्यकालको समय आफै थप गर्ने निर्णय त्यति युत्ति संगत नभएकाले नेपाल शिक्षक संघको स्थानीय, जिल्ला, प्रदेश अधिवेशन र संघिय महाधिवेशन समयमै सम्पन्न गर्न उपयुक्त हुने पत्रमा उल्लेख गरीएको छ ।
त्यसैगरी नेपाल शिक्षक महासंघको महाधिवेशन सम्पन्न गर्ने सवालमा विगत कार्यकाल देखिनै स्थानीय, जिल्ला र प्रदेश समेत संरचना नभैसकेको अवस्थामा अहिले तोकिएको छोटो समयमा राष्ट्रिय अधिवेशन गर्न समेत सम्भव नहुने जानकारी गराएका छन् ।
नेपाल शिक्षक महासंघको महाधिवेशन नगरी त्यस भन्दा पहिला संघको स्थानीय, जिल्ला, प्रदेश अधिवेशन र संघिय महाधिवेशन सम्पन्न गरी सकेपछि मात्र महासंघको महाधिवेशन गर्न ठिक हुने धाराणा नेपाल शिक्षक संघका अध्यक्ष समक्ष रखेका छन् ।
प्रदेश अध्यक्ष विर्ख बहादुर मल्लले विना कारण विधानको विधि र प्रक्रिया पुरा नगरी आफुखुसी संघको महाधिवेशन सार्न नहुने भएकाले आफुले असहमति जनाएको बताएका छन् । उनले विशेष परिस्थिति सृजना भएको खण्डमा मात्र ७७ वटै जिल्लाका अध्यक्ष बोलाएर निर्णय गरेर समय थप गर्न पाइने प्रावधान भएपनि त्यसो नगरी आफै निर्णय गरेर आफ्नै कार्यकाल थपेको बताए । यसबारे संघमा पहिलै देखि आफुले विरोध गर्दै आएको र यसमा पनि असहमति रहेको उनको भनाई छ ।
नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले अहिलेसम्म खोटाङ जिल्लामा बाहेक कुनै पनि जिल्लामा अधिवेशन हुन नसकेको र कोभिडका कारण बन्द भएका विद्यालय भर्खर सञ्चालनमा आएका कारण महाधिवेशन एक वर्षका लागि सारिएको बताए । अहिले भएका जिल्ला प्रतिनिधिहरुको समय माघ मसान्तमा सकिएकाले महाधिवेशनमा आउने प्रतिनिधि नभएका कारण पनि अवधि थप गरीएको उनको भनाई छ । उनले यस्तो अवस्थामा सम्बन्धित कार्य समितिको मुनासिब माफिकको कारण बुझी संघीय कार्य समितिले आवश्यकता अनुसार समय थप गर्न सक्ने बताए ।
साथै नेपाल शिक्षक महासंघको दुइ पटक समय थप भईसकेकोमा अब थप्न नमिल्ने र संस्थाहरुको महासंघ भएकाले सिमित प्रतिनिधि भए पनि पुग्ने हुनाले महाधिवेशन गर्न लागिएको तर्क गरे ।
तर पौडेलले भने झै कार्यसमितिले मात्र महाधिवेशनको समय थप गर्ने अधिकार विधानमा उल्लेख गरिएको छैन । विधान ११.४ बाधा अड्काउ फुकाउ अन्तर्गत (क) अनुसार कार्यसमितिले स्थानीय, जिल्ला र प्रदेश समितिको अधिवेशन हुन नसकेमा सम्बन्धित कार्य समितिको मुनासिब माफिकको कारण बुझी समितिले अधिवेशनको मिति तोक्न पाउने छ ।
त्यसैगरी नेपाल शिक्षक संघको विधान ११.४ बाधा अड्काउ फुकाउ अन्तर्गत (ख) मा संघीय महाधिवेशन समयमा हुन नसकेमा संघीय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले निर्णय गरे बमोजिम हुने उल्लेख गरीएको छ ।
यसमा नेपाल शिक्षक संघले स्थानीय, जिल्ला र प्रदेश समितिको संघीय कार्यसमितिले समय थप गरेर जिल्ला अध्यक्षहरुलाई बोलाई महाधिवेशनको समय थप गर्नुपर्नेमा कार्यसमितिले नै महाधिवेशनको समय थप गरेएको छ जुन विधान संगत देखिदैन । अहिलेको संघीय कार्यसमितिको समय चेत्र मसान्तसम्म बाँकी नै छ ।