स्थापनाको ११ वर्षपछि मध्यपश्चिम विश्वविद्यालयले दियो विद्यावारिधिको पहिलो उपाधि

स्थापनाको ११ वर्षपछि मध्यपश्चिम विश्वविद्यालयले दियो विद्यावारिधिको पहिलो उपाधि
एडुपाना मंगलबार, फाल्गुन १०, २०७८

मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधिको पहिलो उपाधि दिएको छ।

व्यवस्थापन संकायअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी पूर्णमान श्रेष्ठले मध्यपश्चिम विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका हुन्।

सुर्खेतको वीरेन्द्रनगर–५ का  श्रेष्ठ मध्यपश्चिम विश्वविद्यालयकै केन्द्रीय क्याम्पसमा सहप्राध्यापक हुन्। उनले ‘नेपाली कम्पनीको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव’ विषयमा शोधपत्र तयार पारेका हुन्।

श्रेष्ठले विद्यावारिधिका लागि विश्वविद्यालय अनुदान आयोगबाट पूर्ण छात्रवृत्ति पाएका थिए।

२०७५ जेठमा विश्वविद्यालयले पहिलो पटक विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो।

२०६७ मा सुर्खेतमा केन्द्रीय कार्यालय रहनेगरी स्थापना भएको विश्वविद्यालयले स्थापनाको ११ वर्षपछि पहिलो विद्यावारिधि उपाधि दिएको हो।

अहिलेको विद्यावारिधि उपाधि मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक उपलब्धीमध्येमा एक भएको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए।

अब मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विद्यावारिधि उपाधि दिने बताए।

अन्तर्राष्ट्रिय जर्नलमा अर्टिकल प्रकाशित गर्ने, शोधपत्रलाई अरू देशहरुमा पठाएर प्रतिक्रिया लिनेलगायतका प्रक्रिया पूरा गरेर मात्र विद्यावारिधिको उपाधि दिने तयारीमा विश्वविद्यालय लागेको उपकुलपति सिंहले बताए।