नियमित परीक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ

नियमित परीक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ
एडुपाना बुधबार, फाल्गुन १८, २०७८

नियमित परीक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्।

परीक्षा दिन पुगेका बिबिए प्रमथ वर्षका पहिलो सेमेस्टरका विद्यार्थीले बिनासूचना परीक्षा सारिएको भन्दै बुधबार दिउँसो कलेजमा तोडफोड गरेका हुन्।

विश्वविद्यालयले पटक/पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरेको विद्यार्थी आनन्द सहनीले बताए।

‘६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि हामीले दिन पाएका छैनौं,’ उनले भने, ‘११ बजे परीक्षा दिन कलेज पुग्दा स्थगित भएको सूचना टाँसिएको थियो। पहिले परीक्षा नियन्त्रक कार्यालयका सरलाई खोज्यौं, शासनलाई खोज्यौं तर कोही भेटिएन त्यसपछि नारबाजी गर्यौं। आक्रोशमा आएर तोडफोड गर्‍यौं, मेन्टली प्रेसरले कहाँ गएर पोख्ने?’

प्रहरीका अनुसार विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेका हुन्।

तोडफोड गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।

चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

पक्राउ गरिएका विद्यार्थीलाई रिहा गर्न माग गर्दै विद्यार्थीले जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नाराबाजी गरेका थिए ।