अरुको आँखा खोल्नु जतिको ठूलो धर्म कहि छैन – प्रेम राई परीक्षित, प्रिन्सिपल, ईडन ब्रीज एकेडेमी

अरुको आँखा खोल्नु जतिको ठूलो धर्म कहि छैन – प्रेम राई परीक्षित, प्रिन्सिपल, ईडन ब्रीज एकेडेमी
एडुपाना मंगलबार, माघ १८, २०७८

२०२५/०१/२० वुधबार पिता मन्दिर जंग राई र माता शुक्रमाया राईको कोखबाट पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मनु भै हाल उदयपुर जिल्ला चौडण्डी गढी नगरपालिका बसाहा बस्नु हुने प्रेम राई परीक्षित कवि तथा गीतकार, लेखक, एसोसियट लेक्चरर एवम् प्राचार्य हुनुहुन्छ । वहाँले नेपाल सरकारबाट शिक्षा सेवा सम्मान, गीत सिर्जनामा विशेष योगदान गरे बापत रेडियो नेपालबाट विशिष्ट श्रेणीको गीतकार, अन्य दर्जनौ पुरस्कार एवम् सम्मानहरु प्राप्त गर्नु भएको छ भने आधी दर्जन कृतिको कृतिकार हुनुहुन्छ । वहाँको कविता, गीत बिद्यालय स्तरका पुस्तकहरुमा पढाइ हुन्छ । वहाँ जिल्ला प्याब्सन काठमाण्डौको वर्तमान अध्यक्ष हुनुहुन्छ भने त्रीयुगा साहित्य प्रतिष्ठान लगायत अन्य बिभिन्न संस्थामा आवद्ध हुनुहुन्छ । बिगत ३२ बर्ष देखि शिक्षा क्षेत्रमा संलग्न वहाँ हाल इडन ब्रीज एकेडेमी, धापासी काठमाण्डौका सन्स्थापक प्रिन्सिपल हुनुहुन्छ । सार्थक शिक्षा - सार्थक जीवन नारा सहित २०६१ सालमा स्थापित इडन ब्रीज एकेडेमी, धापासी, काठमाण्डौमा करीब ५०० विद्यार्थी अध्ध्ययनरत छन भने ४० जना शिक्षक कर्मचारी सम्लग्न छन । थुप्रै राम्रा-राम्रा प्रतिभावान विद्यार्थी, खेलाडी, कलाकार, साहित्यकार र चित्रकारहरु जन्माउन सफल यस विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म अध्ययन गराइन्छ। देशको मुल्याङ्कन पद्दति बाँदरलाई पानीमा डुबेर पौडन लगाउने र माछालाई रुख चढन लगाएर मूल्याङ्कन गर्ने जस्तो छ र यहि नै अहिलेको हाम्रो देशको शिक्षाको प्रमूख समस्या हो भन्ने कुरामा बिश्वास गर्नु हुने बौद्धिक व्यक्तित्व साहित्यकार एवम शिक्षासेवि प्रेम राई परीक्षितज्यू संग वहाँको बिद्यालयको बारेमा गरिएको अन्तर्वार्ता ।

के कुरा ले हजुरलाई यो विद्यालय खोल्ने प्रेरणा दिएको थियो?

म स्कुल पढ्दा गरुहरुले सानो कक्षामा पढाउन पठाउनु हुन्थ्यो । आफुलाई पनि निक्कै ठूलो मान्छे भएको महसुश हुन्थ्यो । भाईबहिनीहरु खुब रमाउँथे र भोलि पनि आउनु है दाइ भन्थे । यसले मलाई हौस्यायो । २०४५ सालमा पढ्न भनेर काठमाण्डौ आइयो । त्यो बेला हामी जस्तो सामान्य परिवारको मान्छेलाई काठमाण्डौमा बस्न बहुतै समस्या थियो । कलेज पढ्दै जागिर खोज्न थालियो । यति सम्म कि भाँडा माझ्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । तर भाँडा माझ्न पनि कस्ले पाईन्थ्यो र ? खोज्दै जाँदा एउटा स्कुलमा शिक्षकको जागिर पाइयो । मेहनत गरियो । मेहनत गर्न त के गाह्रो भो र दु:खमा हुर्केको मान्छेलाई । दु:ख गरे अनुसार तलब बढ्दै गयो । यता शैक्षिक योग्यता बढाउँदै लगियो । मैले पढाउने बिद्यालयले मलाई थप जिम्मेवारी दिदै लग्यो । सामान्य शिक्षकबाट को-अर्डिनेटर, प्रमुख को-अर्डिनेटर, सहायक-प्रिन्सिपलको जिम्मेवारी पाएँ । थुप्रै अनुभव बटुलेँ  । त्यस पछि एउटा स्कुल खोल्न मन लाग्यो । यसो साथिभाई बटुलेँ र कन्भिन्स गरेँ अनि २०५३ सालमा काठ्माण्डौको धर्मस्थली मा गिनिज पब्लिक नामको स्कुल खोलेँ । स्कुल टाढा भएका कारण मेरो कलेजको पढाइ अगाडि बढ्न सकेन । त्यसपछी त्यो स्कुल अरुलाई जिम्मा लगाएर पढाइ अगाडि बढाएँ । त्यसकै दौरानमा अहिलेको विद्यालय खोलेको हुँ । यसरी शिक्षामा पाएको अनुभव र विद्यार्थीहरुले दिएको परम सम्मानले मलाई विद्यालय खोल्न प्रेरणा मिलेको हो । साच्चै भन्ने हो भने यो जतिको सम्मानित पेशा सन्सारमै छैन । अरुको आँखा खोल्नु जतिको ठूलो धर्म कहि छैन ।

यस विद्यालय को सुरुवात कति सालमा र कसरी भयो?

यो विद्यालय २०६१ सालमा स्थापना भएको हो । तर म चाहिँ २०६६ सालामा आएको हुँ । त्यतिखेर यो विद्यालय बिक्रीमा रहेछ । मेरो अगुवाईमा यो बिद्यालयको स्वामित्व प्राप्त गर्ने काम भयो र त्यसपछी यस बिद्यालयको थुप्रै कुरामा हामीले सुधार गर्यौ ।

अहिले हामीले यस विद्यालय मा के कस्ता भौतिक सुविधा पाउन सक्छौ ?

भूकम्पको जोखिम रहित सुबिधाजनक कक्षाकोठा, खेलकुद ग्राउण्ड, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला, डान्स हल, पुस्तकालय, क्यान्टिन, ई- कक्षा, प्रशस्त पानीको ब्यबस्था, छात्र-छात्राहरुका लागि भिन्न भिन्न चर्पी, म्युजिक सिक्नेहरुका लागि गिटार, किबोर्ड, मादल, बाँसुरी, भ्वाइलिन धेरै सङ्ख्यामा रहेका छन । भविष्यमा अझ धेरै सुबिधा थप्ने योजना रहेको छ ।

सुरुवात देखि अहिले यो अवस्थासम्म आउँदा  के कस्ता चुनौती हरु को सामना गर्नु भयो ?

भनी नसक्नु र गनिनसक्नु छ । एक त निजि बिद्यालय भित्रै अस्वस्थ प्रतिस्पर्धा छ । त्यसमाथी पनि शिक्षा आफैमा राम्रो पेशा भए पनि समाजले त्यसरी हेरेको पाइदैन । यसले गर्दा राम्रा योग्य मान्छे यो पेशामा आउनै चाहदैन । यसले गर्दा राम्रो शिक्षक पाउन कठिन छ । कोरा मान्छेलाई ल्यायो तालिम दियो अनि दुई तीन बर्ष पढाएर अनुभव लिएर अन्तै राम्रो तलब पाउने ठाउँमा जाने प्रवृती छ । हुनत, यो मानविय स्वभाव हो । अर्कोतिर राज्यको नीति निजि बिद्यालय मैत्री र निजि लगानी मैत्री छैन । खुट्टामा डोरीले बाँधेर कुद भन्ने खालको नीति छ । विभेद छ । सबै ब्यबसायमा नाफाको आशामा लगानी गरिएको हुन्छ । निजि बिद्यालय प्रति अभिभावकको बढ्दो आकर्षण भए पनि निजि विद्यालयहरुले कमाएको नाफामा समाज सकारात्मक देखिदैन । माफिया र लुटाहाको संज्ञा दिइन्छ । सेवा दिए पछि त्यसको शुल्क नलिने को होला र यो संसारमा ? नितिगत रुपमा निजि बिद्यालयलाई निल्नु न ओकल्नु बनाएको अवस्था अहिले । अर्को तर्फ नेपाल बन्द, शैक्षिक सत्रको सुरुमा तालाबन्दी मोलमोलाईले पनि हामीलाई अप्ठ्यारोमा पारेको छ । बन्द गर्नेले बच्चाको कोर्ष पूरा गर्न पर्दैन जे गरे पनि त भै गो नि । यो अराजकता रहेसम्म हामीलाई हाम्रो व्यवसाय टिकाउन बहुत गाह्रो छ ।

एउटा विद्यालयमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको शिक्षा नै हो र यस विद्यालय ले कत्तिको गुणस्तरिय शिक्षा प्रदान गरिरहेको छ ?

शैक्षिक गुणस्तरको कुरा गर्दा विभिन्न सुचकहरु हेर्नू पर्ने हुन्छ ।  पहिलो सुचक एस.एल. सि. अहिले एस. इ. इ. परीक्षाको नतिजा मान्न सकिन्छ। अहिले सम्म हाम्रो बिद्यालयले एस.एल.सी. को दस ब्याच निकालिसकिको छ।अहिले सम्म उत्कृष्ट नतिजा ल्याउन हामी सफल भएका छौं ।  हाम्रा बिद्यार्थीहरु सामाजिक जीवनको हर क्षेत्रमा सम्मानजनक रुपमा आफ्नो जिम्मेवारी निभाईरहेका छन । यहाँबाट उत्पादित बिद्यार्थीहरु उच्च शिक्षामा धेरै राम्रो गरिरहेका छन । यो अर्को महत्वपूर्ण सुचक हो । त्यस्तै हाम्रो बिद्यालयले प्रतिभाशाली खेलाडी, बद्यबादन, गायन, नृत्य, चित्रकला र अन्य बिधामा पनि निकै प्रतिभाशाली बिद्यार्थीहरु जन्माईसकेको छ । यो पनि गुणस्तरीय शिक्षाको अर्को सुचक हो । त्यस्तै अर्को हो बिद्यार्थीको आचरण र व्यवहार । हामीले बिद्यार्थीहरुको चरित्र निर्माण लागि संस्कार र शिक्षालाई जोड्न धेरै कार्यक्रमहरु बिद्यालयमा सन्चालन गरिरहेका छौ । असल ब्यबहारको पनि मूल्याङ्कण गरी निश्चित अङ्क बार्षिक नतिजामा समाबेश गर्दै आएका छौं । यसको सकारात्मक परिणाम देखिएको छ । यी चार सुचक जुन स्कुलको राम्रो छ त्यो स्कुलले गुणस्तरीय शिक्षा दिएको छ भन्ने पुष्टि गर्छ । यसले हाम्रो बिद्यालयल गुणस्तरीय शिक्षा प्रदान गरेको छ कि छैन भन्ने कुरा इङ्गित गर्छ ।

यस विद्यालय मा हामीले कतिसम्म दक्ष शिक्षक हरु पाउन सक्छौ ?

अगाडिनै मैले जोडेको छु कि हाम्रो बिद्यालयले जुन नतिजा पस्किरहेको छ, यो यहाँ कार्यरत दक्ष अनुभवी र आफ्नो पेशा प्रति प्रतिबद्ध र ईमानदार शिक्षकहरु भएर मात्र सम्भव भएको हो । यसका अतिरिक्त बिद्यालयको राम्रो वातावरण पनि हो । भनिन्छ कि बीउ राम्रो भए पनि खुरखुरे डाँडोमा रोपे त्यसले फल दिदैन । तर लोकल बीउ भए नि राम्रो माटो हावापानी भएमा त्यसले राम्रो फल दिन्छ । हो हामीले त्यही वातावरण दिइरहेका छौ ।

शुल्क उठाउँदा कत्तिको समस्या आउने गरेको छ?

अलिअली समस्या त जहाँ पनि भैहाल्छ । तर खास त्यति समस्या छैन । स्कुलले दिएको शिक्षामा हाम्रा अभिभावकहरु सन्तुष्ट हुनुहुन्छ । त्यही भएर धेरै फि समयमै उठ्छ ।

राम्रो गर्ने बिद्यार्थीहरुलाई कति सम्म शुल्क छुट गर्दिनु हुन्छ?

हामीले सिष्टम नै बनाएका छौ । कक्षा प्रथम हुनेलाई सत प्रतिशत, दोस्रो हुनेलाई ५०%  र तेस्रो हुनेलाई २५% छात्रबृती दिदै आईरहेका छौ । यसका अलावा खेलकुद, अतिरिक्त कृयाकलापमा राम्रो गर्ने बिद्यार्थीहरुलाई पनि विशेष छुटको ब्यबस्था गर्दै आएका छौ । यसबाट बिद्यार्थीहरुलाई धेरै राहत र हौसला मिलेको छ भन्ने मलाई लाग्छ ।

सबै विद्यार्थी एकै आर्थिक स्तरको हुँदैनन् । एउटा आर्थिक स्तर कमजोर भएको विद्यार्थीलाई के कस्ता कुरामा सहजीकरण गर्नुभएको छ?

यसका लागि एकै परिवारका तीनजना बिद्यार्थी मध्ये एक जनालाई निशुल्क पढाउँदै आएका छौ । त्यसमा पनि एकल महिला, दलित,  दुर्गम क्षेत्र, पढाइ राम्रो तर आर्थिक रुपले बिपन्नको केही कोटा छुटाएर पढाउने गरेका छौ ।

विद्यालय अतिरिक्त क्रियाकलापमा कत्तिको अग्रसर हुनु पर्छ जस्तो लाग्छ हजुरलाई?

यो राम्रो प्रश्न हो । पढाईमा केही सिमित बिद्यार्थीहरु मात्रै अब्बल हुन्छन । अरु बिद्यार्थीलाई पढाइ मात्र सिमित गरियो भने उसले भविष्यमा केही गर्न सक्दैन । त्यसैले अतिरिक्त क्रियाकलाप ले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने र त्यसलाई प्रबर्धन गर्ने काम गर्छ । नारायण गोपाललाई किताब मात्र पढाएको भए उनी स्वर सम्राट बन्ने थिएनन । इडन ब्रीज एकेडेमीले अतिरिक्त कृयाकलापलाई प्राथमिकताका साथ हेरेको छ र धेरै बजेट छुट्याएको छ ।

यस विद्यालयमा के कस्तो अतिरिक्त क्रियाकलापहरु गराईरहेको छ?

हामीले हाम्रो बिद्यालयमा हुने अतिरिक्त क्रियाकलापलाई अन्तर सदन/ कक्षा (Intra school) र अन्तर स्कुल (Inter-School) गरेर दुई भागमा बिभाजन गरेका छौ। Intra-School मा खेलकुद , बक्तृत्वकला, नृत्य, गायन, बाद्यबादन, चित्रकला, बादबिबाद, हस्त लेखन, हिज्जे, वाचनकला, हाजिरी जबाफ, मेमोरी टेस्ट आदि प्रतियोगिता गराउछौ । महत्वपूर्ण कुरा त के भने हाम्रो स्कुलले बार्षिक खेलकुद सप्ताह आयोजना गर्छ जसमा धेरै खेल समावेश गर्दै आईरहेका छौ । अर्को कुरा स्कुलले विभिन्न समयमा अन्तर स्कुल प्रतियोगिता गर्दै आईरहेको छ भने अरु स्कुलले आयोजना गरेको विभिन्न प्रतियोगिताहरुमा हाम्रा बिद्यार्थीहरु अहिलेसम्म खाली हात फर्कनु परेको छैन । ईडन ब्रीज एकेडेमी अतिरिक्त क्रियाकलापको हब नै हो।

त्यसमा अभिभावक बिद्यार्थीहरुको के कस्तो प्रतिक्रिया आउने गर्छ ?

अभिभावक बिद्यार्थीहरुको धेरै राम्रो रेस्पोन्स छ । बिध्यालयले आफुले सक्ने भन्दा धेरै गरेको छ हामी धेरै खुसी छौ भन्नू हुन्छ अभिभावकहरु । सामाजिक सन्जालमा हाम्रो एक्टिभिटिज हेरेर धेरै साथिभाईहरुले प्रशन्सा गर्नुहुन्छ । त्यसले हामीलाई ठूलो हौसला मिलेको छ ।

इन्ट्रा स्कुल र इन्टर-स्कुल कम्पिटिसनले विद्यार्थीमा कस्तो खालको मानसिकता को विकास हुन्छ? र कुन चाहिं धेरै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ हजुरलाई?

धेरै राम्रो प्रश्न । इन्ट्रा स्कुल कम्पिटिसन भनेको इन्टर-स्कुल कम्पिटिसनको तयारी हो । बिद्यार्थीका लागि इन्ट्रा-स्कुल धेरै महत्व छ किनभने इन्टर स्कुलमा सबैले भाग लिन पाउदैनन । जसले गर्दा उनिहरुको ब्यक्तित्व बिकास हुन पाउदैन ।

एउटा स्कूल राम्रो हुनको लागि सबैभन्दा महत्वपूर्ण भूमिका कस्को हुन्छ ?

जसरी एउटा आयाम बन्न चार भुजाहरु जोडिन आवस्यक छ । त्यस्तै एउटा स्कुल सफल बन्न स्कुल ब्यब्स्थापन, अभिभावक, बिद्यार्थी र शिक्षक सबैको २५-२५ प्रतिशत भुमिका रहन्छ । सबैले आफ्नो भागमा परेको २५% राम्रो निर्बाह गरेमा हामीले सोचेको जस्तो विद्यार्थी हामी निर्माण गर्न सक्छौ।

विद्यालय को सुधारका लागि के कस्तो निर्देशन दिने गर्नु भएको छ ?

भौतिक सुधारले मात्र विद्यालय पूर्ण हुन सक्दैन । त्यो एउटा पक्ष मात्र हो । त्यसका लागी सिक्ने र सिकाउने वातावरण निर्माणमा हामी लागेका छौ । बिद्यार्थीको सिकाईमा अभिभावकहरुको भुमिका मत्वपूर्ण हुने भएकाले असल अभिभावक तालिम (Good Parenting Training) गरिरहेका छौ । शिक्षक तालिम, अभिमुखिकरण कार्यक्रमहरु पनि गराईरहेका छौ । त्यस्तै बिद्यार्थीहरुलाई मोटिभेसनल कक्षा पनि बेलाबेलामा गर्दै आईरहेको छौ । यसका अलावा स्कुलाई डिजिटलाइज्ड गरेका छौ । त्यसका साथै सफल र प्रभावकारी शिक्षण सिकाई कसरी हुन सक्छ भनेर इनोभेटिभ आइडियाहरु सेयरिङ गर्ने र Teacher Exchange Program पनि गरिरहेका छौ । बिदेशी शिक्षकहरु स्कुलमा बोलाएर कल्चरल एक्स्चेन्ज गरिरहेका छौ भने गेस्ट लेक्चरबाट विभिन्न बिषयमा अभिमुखिकरण कक्षा गरेरहेका छौ ।

विद्यार्थीको धेरै जस्तो गुनासो मार्क्स मात्र हेरिन्छ सिर्जनात्मक्ता हेरिदैन भन्ने हुन्छ। त्यस्तो विद्यार्थीलाई हजुरको जवाफ कस्तो हुन्छ ?

निकै सान्दर्भिक प्रश्न सोध्नु भयो । बिद्यार्थीको क्षमता परीक्षाको मार्क्सले मात्र पुष्टि गर्न सक्तैन । त्यो एउटा मापनको पक्ष मात्र हो । हाम्रो मुल्याङ्कन पद्दती पुरानै ढर्राको छ । पाठ्यपुस्तकमा यति धेरै बिषय समेटिएका छन कि त्यो सबै रटेर घोकेर परीक्षा उतिर्ण गर्नुको बिकल्प छैन । जसले गर्दा विद्यार्थी र शिक्षकलाई अरु सिर्जनशिल काम गर्ने फुर्सद नै हुदैन । अहिले थोरै परिवर्तन भैरहेको छ । अब विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिन आवस्यक छ । यसका लागि जुन बिद्यार्थी जे मा सक्षम छ त्यसमै आधारित भएर मुल्याङ्कन गर्ने पद्दती अब सुरु गर्नै पर्छ । बाँदरलाई पोखरीमा र माछालाई रुख चढ्न भनेर यहाँ मुल्याङ्कण भैरहेको छ । यो सर्बथा गलत छ । यसका लागि नेपाली ,अङ्ग्रेजि र मातृ भाषा मध्ये एक, सामाजिक शिक्षा र एउटा बिद्यार्थीले रोजेको अप्सनल बिषय गरि जम्मा चार बिषय मात्र पढ्ने मोडेल अब चाडै आउनु पर्छ । तर बर्तमान अवस्थामा यहि सिस्टमलाई पछ्याउनुको बिकल्प छैन । त्यस भित्रै सिर्जनात्मक्ता खोज्ने हो र बन्ने प्रयास गर्ने हो ।

कक्षा अवलोकन कति समयको अन्तरालमा गर्नुहुन्छ ?

अहिले हामी निरन्तर मुल्याङ्कन प्रणाली गैसकेको हुँदा हरेक विद्यार्थीको क्लोज वाच भैइरहेकै हुन्छ । त्यसको लागि यो समय यो दिन भनेर तोकेका छैनौ ।

सबै विद्यार्थी को श्रेणी समान हुँदैन कुनै कमजोर हुन्छन् । त्यस्ता विद्यार्थी लाई कसरी सम्हाल्न निर्देशन दिनु भएको छ ?

हुनत बिद्यार्थीको ग्रेडिङ त्यति राम्रो होइन । बिद्यालयमा राम्रो ग्रेड आएको बिद्यार्थीले पनि पछि राम्रो नगरेको पाएका छौ र नराम्रो ग्रेड ल्याउनेले पनि पछि राम्रो गरेको पाएका छौ । तर पनि हामीले नतिजा सन्तोषप्रद नभएका बिद्यार्थीहरुलाई विशेष फोकस गर्दै आइरहेका छौ ।

अहिलेको शिक्षा प्रणाली सँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पटक्कै सन्तुष्ट छुइन । मन नलागी नलागी भात खाइरहेको जस्तो लाग्छ । हाम्रो देशको बर्तमान शिक्षा प्रणाली बाँदरलाई पानीमा डुबेर पौडन लगाउने र माछालाई रुख चढन लगाएर मूल्याङ्कन पद्दती छ । यसले हामीलाई कहि पुर्याउदैन।

आफैले आफ्नो तरिकाको शिक्षा प्रदान गर्न सम्भव हुन्छ कि हुँदैन ?

तल्लो कक्षाहरुमा त सम्भव होला । तर हाम्रो समाज अहिले पनि पुरानो दलदलबाट निस्कन सकेको छैन । किताब सबै पढाएर सकाउनै पर्ने, धेरै मार्क्स ल्याउनै पर्ने चिन्तन नत्यागेसम्म यो सम्भव देख्दिन । आशा गरौं, बिस्तारै चेन्ज हुँदै जाला ।

के कस्ता परिवर्तन आएमा यो क्षेत्र अझै राम्रो हुन्छ जस्तो लाग्छ ?

यसको बारेमा मैले धेरै भनिसकेको छु । नम्बर एक यो पुरानो ढाँचाको मुल्याङ्कन पद्दती परिवर्तन गरि बच्चाको क्षमता के मा छ त्यो एक्स्प्लोर गर्ने खालको मुल्याङकन पद्दती अवलम्वन गर्नु आबश्यक छ । नम्बर दुई पाठ्य बिषय घटाएर सिर्जनशिल कुराहरुमा फोकस गर्नु पर्छ । शिक्षक र अभिभावकको पुरानो सोच हटाउन आवस्यक छ र देश सुहाउँदो कृषि, पर्यटन,जल बिद्युत सम्वन्धि पढाईलाई सानै कक्षाबाट सुरु गर्नु पर्छ । अबको शिक्षा बेरोजगार उत्पादन गर्ने होइन जीवनोपयोगी हुनु पर्छ ।

अरु विद्यालय भन्दा यो विद्यालय के कस्ता कुरामा भिन्न छ?

म हाम्रो बिद्यालय अरु बिद्यालय सग तुलना गर्दिन । तुलना गर्न आवस्यक छैन जस्तो लाग्छ मलाई । हाम्रो बिद्यालयको बारेमा थुप्रै कुरा बताईसकेको छु । मैले जे जति भनेको छु त्यो हाम्रो बिद्यालयले प्रदान गरिरहेको र गर्ने शिक्षाको मोडल हो । एक दुई तीन मा भन्ने हो भने  १) सिकाईमा सिर्जन्शिलता  २) प्रतिभा प्रष्फुटनका लागि उपयुक्त वातावरण  ३) निरन्तर मुल्याङ्कन पद्दति र सिर्जन्शिलतालाई मुल्याङ्कनमा समाबेश आदि हाम्रो विद्यालयको पहिचान हो ।

शिक्षक , विद्यार्थी र अभिभावकले के कस्ता कार्य गर्दिने हो भने विद्यालय ले अझै अघि बढ्न सक्छ ? र हजुरले उहाँहरु बाट कस्तो अपेक्षा राख्नु हुन्छ ?

अभिभावक बालबच्चाका लागि पहिलो शिक्षक हुन । प्रत्येक अभिभावकले सिकाईलाई सहजिकरण गर्दिनु पर्छ । हरेक कुरामा स्कुलमा निर्भर हुनु हुन्न । यस्तै शिक्षक अभिभावक बनिदिनुपर्छ ।बिद्यार्थीहरुलाई अभिभावकीय माया दिएर पठनपाठन गराउनु पर्छ । प्रत्येक शिक्षकले बिद्यार्थीहरुमा प्रश्न गर्ने बानी बसाल्नु पर्छ र उत्तरको भोक जगाउनु पर्छ । बिद्यार्थीहरुले साधारण कुरालाई असाधारण तरिकाले समाधान गर्ने बानी को बिकास गर्नुपर्छ, प्रश्न गर्ने बानी बसाल्नु पर्छ किनभने "रुखबाट झरेको स्याउ आकाशतिर किन गएन? किन जमिनमा खस्यो?" भन्ने एउटा प्रश्नले न्युटन विश्व बिख्यात बैज्ञानिक बने । विद्यालय ब्यवस्थापनले त्यसका लागि वातावरण बनाई दिनुपर्छ ।